रौतहट : रौतहटको गरुडा नगरपालिकाले मुख्य सडक क्षेत्रका फुटपाथ तथा ठेला पसल हटाउने अभियान सुरु गरेको छ । यो अभियान बिहीबारदेखि सुरु गरिएको हो ।
नगरपालिकाको नगर प्रमुख कन्थमनी प्रसाद जैसवालको निर्देशनमा यो अभियान अघि बढाइएको हो । नगरपालिकाका अनुसार मुख्य सडक छेउछाउमा ठेला, अस्थायी पसल तथा अन्य सामग्री राखेर फुटपाथ अतिक्रमण गर्दा पैदलयात्रीलाई आवतजावतमा समस्या भइरहेको थियो । यसले गर्दा नगरपालिकाले सडकलाई व्यवस्थित र फराकिलो बनाउन यो कदम चालेको हो । नगर प्रमुख जैसवालले बताएअनुसार अतिक्रमण हटाउन विभिन्न समयमा पत्र काटेर सूचित गरिएको थियो ।
साथै, सार्वजनिक सूचना जारी गर्दै माइकिङ समेत गरिएको थियो । तर, पटक–पटकको सूचना र आग्रहलाई अटेर गरी ठेला तथा पसल राख्न छाडिएपछि नगरपालिकाले हटाउने अभियान सुरु गर्न बाध्य भएको हो ।
पहिलो चरणमा नगरपालिकाले मुख्य बजार क्षेत्रका ठेला, अस्थायी पसल तथा अन्य अवैध संरचनाहरू हटाएको छ । यसक्रममा केही पसलेहरूले विरोध जनाए पनि नगरपालिकाले आफ्नो अभियानलाई निरन्तरता दिएको छ ।
नगर प्रमुख जैसवालले भने, “फुटपाथ पैदलयात्रीको लागि हो, ठेलावालाहरूको लागि होइन । हामीले धेरै पटक चेतावनी दिएका थियौं । अब कानून कार्यान्वयनको समय आएको छ ।
” फुटपाथ सफा गर्न सुरु गरिएको अभियानलाई स्थानीयवासीले समर्थन गरेका छन् । उनीहरूले नगरपालिकाले पैदलयात्रीको अधिकार र सुरक्षाको पक्षमा चालेको यो कदम सही भएको बताएका छन् ।
नगरपालिकाले यो अभियानलाई निरन्तरता दिने र अतिक्रमणमुक्त नगर बनाउने योजना बनाएको छ । साथै, अस्थायी पसल तथा ठेलावालाहरूको लागि विकल्पको व्यवस्था गर्न पनि विचार भइरहेको बताइएको छ । सडक र फुटपाथलाई व्यवस्थित बनाउन गरुडा नगरपालिकाले चालेको यो कदमले नगरलाई थप सुन्दर र सुरक्षित बनाउने अपेक्षा गरिएको छ ।

