जनकपुरधाम : करवा चौथ सनातन हिन्दू धर्मावलम्बीहरूको एउटा प्रमुख पर्व हो । यो पर्व खासगरी नेपालको तराई लगायत विश्वभरि नै मनाउने गरिन्छ ।
यो पर्व कार्तिक महिनाको कृष्ण पक्षको चतुर्थी तिथि पारेर मनाइन्छ । यो पर्वलाई विशेष गरी सौभाग्यवती (पति जीवित भएकी सधवा) स्त्रीहरूले व्रत सम्पादन गरेर मनाउने गर्दछन् ।
सामान्यतया कार्तिक महिनाको कृष्णपक्षमा पर्ने चन्द्रोदयका समयमा जुन दिन चौथी तिथि (चन्द्रोदयव्यापिनी चतुर्थी) पर्दछ, त्यसै दिनको विहान ब्रह्म मूहुर्त (करिब बिहानको चार बजे)बाट यो व्रत सुरू हुन्छ र बेलुका चन्द्रमाको दर्शन र पूजा गरेपछि व्रत सम्पन्न हुन्छ ।
करवाचौथका दिन दिनभरि उपवास राखेर राती चन्द्रमालाई अर्घ्य दिएपछि भोजन गर्ने विधान छ ।

