जिप्रका धनुषा: सुरक्षा दिन प्रहरी असफल । कमजोर सुरक्षाका कारण १० जना थुनुवा फरार


रोयल्स टाईम ।

जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट १० जना थुनुवा फरार भएका छन् ।

विहान करिब सबा ३ बजेको समयमा भेन्टिलेशन फुटाएर १० जना फरार भएको हो । जसमध्ये एक जना पक्राउ परि सकेको प्रहरी स्रोतले जनाएको छ ।
स्रोतका अनुसार हिरासतबाट फरार भएका सबै थुनुवाहरु लागू औषध र चोरी मुद्दाका अभियुक्तहरु रहेको र ती सबै एउटै हिरासत कक्षमा बस्दै आएका थिए ।

प्रहरी स्रोतका अनुसार थुनुवा कक्षमा रड काट्नलाई ह्याक्सो ब्लेडको प्रयोग गरिएको र यो ब्लेडको पहुँचमा उनीहरु कसरी पुगे भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।

एक हिरासत कक्षमा १० जना थुनुवा रहेको मध्ये भेन्टिलेशन फुटाएर सबै निस्किएर भागेपनि १ जनालाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको नयाँ भवनको १० फिटमाथि पुगेर भेन्टिलेशनको रड काटेर थुनुवाहरु फरार भएका हुन्।

थुनुवा कक्ष जस्तो संवेदनशील स्थानमा चौबिसै घण्टा प्रहरी तथा सिसिटिभीको निगरानी रहँदा पनि यसरी थुनुवा फरार हुनुमा शंका उब्जिएको छ ।

थुनुवाहरुको कक्ष सम्म रड काट्न प्रयोग हुने ह्याक्सो ब्लेड पुग्नु, घण्टौंसम्म रड काट्न समय लाग्ने भएपनि प्रहरीले सुईको सम्म थाहा नपाउनु जस्ता विषय शंकास्पद रहेको, नागरिक समाजका अगुवाहरुको भनाई छ ।

प्रहरीको हिरासत कक्षबाट भाग्नेहरुमा धनुषा जिल्ला जनकपुरधाम उप–महानगरपालिका २० रुपैठा हाल काठमाण्डौं चावहिल गणेश मन्दिर नजिक बस्ने २५ वर्षिय अमित कुमार झा (लागु औषध), धनुषाको विदेह नगरपालिका ७ गिद्धाका २६ वर्षिय रञ्जित मण्डल (लागु औषध), सोही स्थान बस्ने २४ वर्षिय रोशन कुमार मण्डल, सिरहा जिल्ला सिरहा नगरपालिका १३ बस्ने ३३ वर्षिय अभास्कर कुमार यादव (लागु औषध) र धनुषाको औरही नगरपालिका २ बस्ने २३ वर्षिय विशाल मुखिया फरार भएका छन् ।

यसैगरी अन्य फरार हुनेहरुमा धनुषा जिल्ला जनकपुरधाम उपमहानगरपालिका १ बस्ने १७ वर्षका सुमित मेस्तर नावालक (अभद्र व्यवहार), धनुषा जिल्ला नगराईन नगरपालिका २ बस्ने १८ वर्षिय मनिष मण्डल (अभद्र व्यवहार) र धनुषा जिल्ला जनकपुरधाम उपमहानगरपालिका ४ बस्ने २२ वर्षिय विक्की कार्की रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

फरार भएकाहरूको खोजीका लागि रातिदेखि नै प्रहरी विभिन्न ठाउँमा सर्च अभियान चलाएको छ । सीमा क्षेत्रमा समेत निगरानी बढाइएको छ ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्