एनपीएल: आज चितवन राइनोज र विराटनगर किंग्स मैदानमा उत्रिने


काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार हुने दोस्रो खेलमा चितवन राइनोज र विराटनगर किंग्स खेल्दै छन् । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेदेखि सुरू हुनेछ ।

चितवन कुशल मल्लको कप्तानीमा छ भने विराटनगर सन्दीप लामिछानेको कप्तानीमा खेल्दैछ । फर्मको कुरा गर्नुपर्दा दुवै टोली पछिल्लो खेल हारेका छन् ।

विशेषगरी विराटनगर बिहीबारको खेलमा पोखरा एभेन्जर्ससँग सुपर ओभरमा पराजित भएको थियो । यो हारले विराटनगरको प्लेअफ सम्भावनामा ठुलो धक्का पुगेको छ भने अब झिनो आशा मात्र बाँकी छ ।

उता चितवन भने पछिल्लो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो । लुम्बिनीले आफ्नो पहिलो जित निकाल्ने क्रममा चितवनलाई रोकेको थियो ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले पाँच खेलमा एक विकेट मात्र लिएका छन् । बिहीबार पोखरासँगको खेलमा उनले लिएको केही निर्णयहरू देखेर फ्यानहरू पनि खुसी थिएनन् ।

विराटनगरले बाँकी खेलका लागि नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्डसलाई भित्र्याएको छ जसले पहिलो खेलमै राम्रो इनिङ खेलेका थिए । त्यस्तै न्युजिल्याण्डका स्टार ब्याटर मार्टिल गप्टिल पहिलो खेलमा अर्धशतकपछि फर्ममा देखिएका छैनन् । बलिङमा प्रतिश जिसीले राम्रो गरिरहेका छन् ।

उता चितवनका लागि विदेशी खेलाडी रवि बोपाराले ब्याटिङमा तथा सोहेल तनविरले बलिङमा राम्रो गरिरहेका छन् । रिजन ढकालले पेस बलिङमा तथा कप्तान कुशल मल्लले र रन्जित कुमारले स्पीन राम्रो गरिरहेका छन् ।

चितवनले छैटौं विदेशी खेलाडीका रूपमा यूएईका बासिल हामिदलाई पनि अनुबन्ध गरेको छ । उनी शुक्रबारको खेल खेल्न सक्ने छन् ।

चितवनले यो खेल जितेमा विराटनगर प्लेअफ दौडबाट बाहिरिनेछ । विराटनगरले जितेमा चितवनलाई धक्का लाग्ने छ भने विराटनगरको झिनो आशा बाँकी नै रहनेछ ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्