जनकपुरधाम : जनकपुरधामसहित धनुषाका सबैजसो क्षेत्रस्थित पोखरी, तलाऊ तथा नदीहरुमा छठ पर्वको प्रमुख दिन मंगलबार अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइएको छ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वका अवसरमा जनकपुरधाममा सूर्यदेवको आराधना, उपासना र पूजा गरिएको छ। मुख्यमन्त्री लालबाबु राउतले आरतीसहित पहिलो पूजा गरेपछि जनकपुरमा मंगलबार साँझ छठपूजा सुरु भएको हो।
छठ पूजाका लागि पूजास्थलहरु दुलहीझैँ श्रृंगारिएको छ। सत्य र अहिंसाप्रति मानवको रूची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो। मानवजीवनमा कल्याणका लागि सूर्यदेवको पूजाआराधना गर्ने परम्परा छ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको तथ्य सूर्य पुराणमा उल्लेख छ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रशन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ।
यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को ब्रत गर्नेबाट कामना पूरा गराउने गर्छन्। आर्थिक अभाव भएका मानिसहरू भिक्षा मागेरै भएपनि यो पर्व मनाउने गर्छन्।

