छठ पर्व विधिवत् सुरु, आज ‘नहाय–खाय’


 

जनकपुरधाम : विशेष गरी मधेसमा हर्सोल्लाषपूर्वक मनाइने छठ पर्व आज (मंगलबार) सुरु भएको छ।

अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्ट पारिवारिक सुख, समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्व सुरु हुन्छ।

छठको पहिलो दिन आज नहाय खाय, बुधबार खरना, बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ भने शुक्रबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि छठपर्व सम्पन्न हुनेछ।

आदिदेव सूर्य भगवान्‌लाई अर्घ्य दिन नदी, तलाउ, पोखरी, इनारलगायत जलाशय किनारमा घाट बनाएर विशेष रूपले सिँगारिएको छ।

जनकपुरधामको छठपर्व सबैभन्दा प्रसिद्ध रहेको बताइन्छ। यसका लागि त्यहाँ हप्तौँ पहिलेदेखि तयारी सुरु गरिन्छ।

चार दिनसम्म मनाइने छठपर्वको पहिलो दिन व्रतालुहरू नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्छन् भने दोस्रो दिन साँझ प्रसादका रूपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर ग्रहण गरी खरना गर्छन्।

त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठपर्वको विधिवत् समापन हुन्छ।

केही वर्षयता भने काठमाडौँ उपत्यकासहित देशमा पहाडी भेगमा समेत छठ पर्व मनाउने क्रम बढेको छ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्