मधेस प्रदेश सहित यी प्रदेशमा दाना चक्रवातको असर


 

काठमाडौँ : बङ्गालको खाडीमा विकसित भएको दाना चक्रवातको सामान्य असर नेपालमा पनि देखा परेको छ । कोशी प्रदेशका केही स्थानहरूमा वर्षा भएको छ भने कोशी, मधेस, बागमती प्रदेशमा बादल लागेको छ ।

दाना चक्रपातको सबैभन्दा धेरै असर भारतको ओडिसा, पश्चिम बंगालमा पर्ने भएपनि नेपालबाट यसको दुरी धेरै रहेको कारण यहाँ भने सामान्य असर देखिएको हो ।

आजदेखि नै नेपालमा यसको असर कमजोर हुँदै जाने जल तथा मौसम विभागका मौसमविद गोविन्द झाले
जानकारी दिए ।

झाले भने– ‘बङ्गालको खाडी आसपासको क्षेत्रमा न्यून चापीय प्रणाली बनेको थियो, त्यो चक्रपात बिस्तारै जमिनतर्फ प्रवेश गरिसकेको छ ।

समुन्द्रबाट बिस्तारै जमिनतर्फ प्रवेश गरेको चक्रवातको असर बिस्तारै कम हुँदै जान्छ । अहिले चक्रपात कमजोर अवस्थामा आइसकेको छ । आजदेखि नै यसको प्रभाव कमजोर हुँदै जान्छ ।’

नेपालमा दाना चक्रवातको सामान्य असर परिसकेको बताउँदै उनले विभिन्न स्थानमा बदली भइरहेको बताए । कोशी प्रदेशका केही स्थानमा वर्षा भए पनि दाना चक्रपात नेपालभन्दा अलि पर भएकोले त्यसको आंशिक प्रभाव मात्र रहेको झाले बताए ।
उनले भने– ‘कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशमा बादल लागिरहेको छ । चक्रवातको असर घट्दै गइरहेको छ । अब धेरै असर पर्ने अवस्था छैन । आज बदली भए पनि भोलीबाट यसको प्रभाव घट्दै छ ।’

मनसुन सकिए पनि अब नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण कतै कतै पानी पर्ने अवस्था अझै पनि रहने मौसमविद् झाले बताए । जाडो मौसममा बिस्तारै पश्चिमी वायुको प्रभाव पर्दै जाने उनले बताए ।

 

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्