कुनै दल फुटाउने र मिलाउने काम गर्दिनँ: प्रधानमन्त्री ओली


रासस

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको बताएका छन्।

नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई आज बालुवाटारमा बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झुठ र नकारात्मकता फैलाइएको बताए। कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय भएको उनको भनाइ थियो।

उनले विगतमा आफू प्रधानमन्त्री हुँदा कुनै दल विभाजन हुने स्थिति आएमा संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत पुर्‍याउनुपर्ने संविधानको व्यवस्था कार्यान्वयनमा जटिलता आएकाले संसदीय दल वा केन्द्रीय कमिटीमा ४० प्रतिशतको प्रबन्ध गरेर अध्यादेश ल्याए पनि विरोध आएपछि फिर्ता लिएको बताए।

तत्कालीन समयमा विरोध गर्नेहरुले नै पछि २० प्रतिशत सांसदले विभाजन गर्न पाउने भन्ने व्यवस्था गरेर दल विभाजन गराएको स्मरण गर्दै उनीहरुले नै अहिले अध्यादेशको विरोध गरिरहेको उनको भनाइ थियो। तर, आफूले भने त्यसो गर्ने कुनै मनसाय नरहेको पनि प्रधानमन्त्रीले उल्लेख गरे।

प्रधानमन्त्री ओलीले मुलुक विकास र जनताका सेवालाई ध्यानमा राखेर सरकारले राष्ट्रपतिसमक्ष विभिन्न अध्यादेश सिफारिस गरेको बताए। उनले सो विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विरोध गरेको भनी झुठो वक्तव्य प्रचार गरिएको उल्लेख गर्दै यस्ता घटनाबाट नेपाली पत्रकारिता बच्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्