हेटौँडा : मकवानपुरमा घाँस काट्न घर नजिकैको बारीमा गएकी एक महिला मृत फेला परेकी छन्। बाघको आक्रमणबाट उनको मृत्यु भएको अनुमान प्रहरीले गरेको छ।
मनहरी गाउँपालिका-५ बसन्तपुरकी ७२ वर्षीया कान्छिमाया रुम्बाको शव आइतबार साँझ घर नजिकै बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार कान्छिमाया आइतबार ९हिजो० दिउँसो आफ्नो घर नजिकै बारीमा घाँस काट्न गएकी थिइन्।
आइतबार दिउँसो ४ बजेतिर कान्छिमाया घाँस काट्न घरबाट निस्किएकी आफन्तले बताएका छन्। समयमै घर नफर्किएपछि परिवारजनले खोजी गर्ने क्रममा आइतबार साँझ घरदेखि करिब ५ सय मिटर टाढा छिमेकी किशोर बर्तौलाको बारीमा उनको शव फेला परेको हो।
प्रहरीका अनुसार, कान्छीमायाको शवको प्रकृति हेर्दा बाघको आक्रमणबाटै उनको मृत्यु भएको जस्तो देखिन्छ। शरीरका विभिन्न भागमा गहिरा चोटपटक देखिएको छ।

