टर्कीले सन् २०२५ का लागि श्रमिकको न्यूनतम् ज्याला ३० प्रतिशत वृद्धि


काठमाडौं : टर्कीले सन् २०२५ को लागि श्रमिकको न्यूनतम ज्याला ३० प्रतिशतले वृद्धि गर्ने भएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मंगलबार श्रमिकको न्यूनतम तलब ६३० अमेरिकी डलर पुर्‍याउने घोषणा गरेका हुन् ।

न्यूनतम पारिश्रमिक निर्धारण आयोगको अंकारामा भएको चौथो बैठकपछि श्रम तथा सामाजिक सुरक्षामन्त्री वेदात इसिखानले यो वृद्धिले श्रमिकको हितवृद्धि हुने बताए ।

मन्त्री इसिखानले यो निर्णयले देशको आर्थिक स्थायित्वलाई मजबुत बनाउने पनि विश्वास व्यक्त गरे । यद्यपि टर्किस कन्फेडेरेसन अफ ट्रेड युनियन (टर्क–आईएस) तलब वृद्धि प्रस्तावको सूचना समयमै नदिइएको भन्दै बैठकमा उपस्थित भएन ।

टर्क–आईएसका अध्यक्ष एर्गुन अतालेले यसअघि ४५ प्रतिशत वृद्धि र २० प्रतिशत सामाजिक हिस्सासहित २९ हजार ५८३ लिरा (लगभग ८४५ डलर) को खुद ज्याला हुनुपर्ने माग गरेका थिए ।

युनियनले यो सङ्ख्याभन्दा कम कुनैपनि निर्णयलाई अनुमोदन नगर्ने दोहोर्‍याएको थियो ।

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्