जनकपुरधाम : सिरहा प्रहरीले मधेस प्रदेशमा विभिन्न क्षेत्रमा लुटपाट गरी फरार रहेका भारतीय लुटेरालाई पक्राउ गरेको छ।
सिरहा नगरपालिका १७ माडर स्थित नेपाल भारतको दसगजा क्षेत्र नजिकबाट आरिफ खान भनिने आरिफ हुसेनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
गोप्य सूचनाको आधारमा सिरहाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्रकुमार पासवानको कमाण्डमा खटिएको प्रहरी टोलीले आरिफलाई हात, खुट्टा लगायत शरीरको बिभिन्न भागमा चोट पटक लागेर घाइते भएको अवस्थामा मंसिर २९ गते बिहान नियन्त्रणमा लिएको थियो ।
सिरहा प्रादेशिक अस्पतालमा उपचार पश्चात सोमबार थप अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय मिर्चैया उनलाई पठाइएको डिएसपी पासवानले जानकारी दिए ।
२०८० जेठ १६ गते दिउँसै महोत्तरीको महोत्तरी गाउँपालिका-२ स्थित रहेको एनएमबी बैंकमा ४र५ जनाको हतियारधारी समूहले ३८ लाख रुपैयाँ लुटपाट गरेको घटनामा संलग्न भई आरिफ फरार भएको डिएसपी पासमानले बताए।
यस्तै २०७९ फागुन १० गते सिरहाको कल्याणपुर स्थित ग्लोबल आईएमई बैंक शाखा कार्यालय कल्याणपुरका सहायक लेखापाल बर्ष ४३ का उपेन्द्र साहले मिर्चैया नगरपालिका-६ मा रहेको ग्लोबल आईएमई बैंकबाट ९ लाख रुपैयाँ लिएर ज ६ प ८१८५ नम्बरको मोटरसाइकलमा आउँदै गर्दा मिर्चैया नगरपालिका-३ बताहा पुल नजिक ४ जनाको हतियारधारी समूहले लुटपाट गरेर भागेका थिए।
उक्त घटनामा पनि आरिफको संलग्नता रहेको डिएसपी पासमानले उल्लेख गरे।
भारत विहारको मधुवनी जिल्लामा समेत हातहतियार, लुटपाट लगायतका अपारधिक घटनामा उनीविरुद्ध मुद्दा दर्ता छ।
उनलाई पक्राउ गर्न भारतीय प्रहरीले २५ हजार रुपैयाँ पुरस्कारको घोषणा गरेको थियो।

