रासस
सुनसरी : सुनसरीको धरानमा प्रहरीले गोली हानेर ६ सय किलो गाँजा बरामद गरेको छ। धरान उपमहानगरपालिका-१३ शिवधाराबाट प्रहरीले गाँजा बरामद गरेको हो।
गाँजा बरामद गर्ने क्रममा प्रहरीले चार राउन्ड गोली प्रहार गरेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए।
धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा१झ ५१२७ र बा१झ ४६०५ सरकारी नम्बर प्लेटका दुईवटा जिपलाई प्रहरीले मङ्गलबार राति नियन्त्रणमा लिएको थियो।
दुवै जिपलाई रोकेर जाँच गर्न खोज्दा चालक भाग्न खोजेपछि प्रहरीले गोली हानेर गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमा उनले जानकारी दिए।
धनकुटाबाट गाँजा ल्याइँदै छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय भानुचोकबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो।
गाँजा बरामद गर्ने क्रममा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा-११ का ३६ वर्षीय श्यामकुमार विक छन्।
उनलाई इलाका प्रहरी कार्यलय धरानमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

