काठमाडौँ : विराटनगर किंग्सलगातार दोस्रो खेलमा पनि पराजित भएको छ। खराब प्रदर्शन गरेको विराटनगर सुदूरपश्चिमसँग ९० रनले पराजित भएको हो। फराकिलो हार भोग्ने क्रममा विराटनगर बलिङ र ब्याटिङ दुवैमा कमजोर रह्यो।
सुरुवातबाटै लगातार विकेट गुमाएको विराटनगर १६.१ ओभरमा ९२ रन जोड्दा अलआउट भएको थियो। विराटनगरका लागि बसरि अहमदले २४ रन जोड्नु सर्वाधिक रनका रुपमा रह्यो।
उनी बाहेक थप दोहोरो स्कोरका रुपमा राजेश पुलामीले १५ रन बनाए भने अन्तिम विकेटका रुपमा क्रिजमा आएका अनिल खरेलले १० रन बनाए। अन्य कुनै पनि खेलाडीले दोहोरो स्कोरमा रन बनाएनन्।
विराटनगरलाई ध्वस्त बनाउने क्रममा सुदूरपश्चिमा स्कट कुगेलिङ्गले ३ विकेट लिँदा अभिनास बोहरालेपनि समान ३ विकेटनै लिए। त्यस्तै ब्रान्डन म्याकमुलन र इशान पाण्डे र साइब जाइबले समान १-१ विकेट लिएका थिए।
यसअघि विराटनगर आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्स सँग २७ बल बाँकी हुँदै ८ विकेटले हारेको थियो। पहिलो खेलमा फराकिलो हारको निरन्तरता दोस्रो खेलमा पनि विराटनगरको जारी रह्यो।
अब विराटनगरले आफ्नो तेस्रो खेलमा भोलि दिउँसो लुम्बिनी लायन्सको सामना गर्नेछ। विराटनगरलाई फराकिलो अन्तरले हराएको सुदूरपश्चिमले भने दोस्रो खेलमा बिहीबार काठमाडु गुर्खाजको सामना गर्नेछ।
जारी प्रतियोगितामा पहिले ब्याटिङ गरेर जित निकाल्ने सुदूरपश्चिम पहिलो टिम बन्यो। यसअघि सम्पन्न तीन खेलमा चेज गर्ने टिमले जित निकालेका थिए।

