काठमाडौँ : अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो ।
संयुक्त राष्ट्रसङ्ले यस वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने तय गरेको छ ।
नेपालमा पनि ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’ भन्ने राष्ट्रिय नारासहित देशभरका विभिन्न सरकारी तथा गैरसरकारी सरोकार भएका निकायले जनचेतनामूलक कार्यक्रम गरी यो मनाउँदै छन् ।
दिवसका सन्दर्भमा यसैबमोजिम अन्तर्राष्ट्रिय र राष्ट्रिय नाराको प्रयोग गर्नरगराउन सरकारले आह्वान गरेको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको समावेशीकरणको मुद्दामा समर्थन जुटाउन, अपाङ्गताका विषयमा जनचेतना अभिवृद्धि गर्न, सबैका लागि समावेशी र पहुँचयोग्य समाज निर्माणमा सरकार तथा सरोकार भएका निकायको ध्यानाकर्षण गराउन यो दिवस मनाइँदै आइएको हो ।

