काठमाडौं : बालाचतुर्दशीको अघिल्लो दिन पितृका नाममा बत्ती बाल्नेहरुको पशुपतिनाथ मन्दिर परिसरमा घुइँचो लागेको छ ।
आज त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । बालाचतुर्दशीको अघिल्लो रात शुक्रबार दिवङ्गत पितृका नाममा दीपदान गर्न भक्तजनहरु पशुपतिनाथ परिसरमा आएर रातभर जाग्राम बस्छन् ।
शुक्रबार दीपदान गरी रातभर जाग्राम बस्ने भक्तजनले शनिबार बिहानै पितृको सम्झनामा धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएर शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् ।
एक सय आठ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा सतबीज छर्ने गरिन्छ ।
शतबीज छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गरिन्छ ।

