काठमाडौँ : केही दिनअघिको अविरल वर्षापछि आएको बाढीपहिरोबाट ठप्प काठमाडौँ उपत्यका प्रवेश गर्ने नाका सञ्चालनमा आउन थालेसँगै सडकयात्रामा केही हदसम्म सहजताको स्थिति बनेको छ।
काठमाडौबाट निस्केको गाडीहरु अहिले बल्ल सडकमा अलि सहजता भएर खुलेको छ
धादिङको झयाप्ले खोलाको सडकमा खसेको पहिरो पन्छाउने कार्य पूरा भएसँगै त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग भएर गुड्ने सवारी आवागमन सञ्चालन भएको छ।
पूर्वतर्फ साँगाभञ्याङ भएर बाहिरिने सवारीसाधन अरनिको राजमार्ग हुँदै चौतारासम्म तथा बिपी राजमार्गतर्फ भकुण्डेबेँसीसम्म सञ्चालनमा रहेको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिए।
नुवाकोटतर्फ जाने नाका खुले पनि त्यहाँबाट भने ठूला सवारीसाधन आवागमनमा केही कठिनाइ रहेको उनको भनाइ छ।
दक्षिणकाली भएर उपत्यका छाड्ने सडक भने सञ्चालनमा आउन सकेको छैन। बाढीपहिरोबाट पक्की पुल बगाएका र नदीले सडक कटान गरी ठूलो क्षति पुर्याएका स्थानमा भने अझै सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा ल्याउन केही समय लाग्ने छ।

