काठमाडौं : राजधानी काठमाडौं भित्रिने र बाहिरिने नाकाका सडकहरु ठप्पै भएका छन् । आज तेस्रो दिन पनि काठमाडौंबाट गाडीहरु बाहिरिएका छैनन् । भित्रिने क्रममा रहेका गाडीहरु भने बीचबाटोमै अलपत्र छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले धादिङ र काठमाडौं दुवैतिरबाट नागढुंगाको पहिरो पन्छाउने काम भइरहेको जानकारी दिए ।
‘झ्याप्ले खोलामा ठूला–साना ३÷४ वटा गाडीहरु पुरिएका छन्, थुप्रै गाडीहरुमा क्षति पुगेको छ,’ प्रवक्ता खड्काले भने, ‘पहिरो पन्छाएर बाटो खुलाउन कम्तिमा आज मध्याह्नसम्म लाग्छ ।’
झ्याप्ले खोलामा पुरिएका दुईवटा बसबाट हिजो बेलुका १४ जनाको शव निकालिएको थियो । आज पनि त्यहाँ पुरिएको अर्को बसलाई निकाल्ने प्रयास भइरहेको छ ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट पूर्वतिर र दक्षिणतिर जाने सडकमा पनि पहिरोले क्षति पुगेकाले सवारी आउजाउ ठप्प भएको छ ।
उत्तरतर्फ ९नुवाकोट०तिर जाने सवारी साधनहरु टोखा, झोर हुँदै चलिरहेका छन् । तर त्यो बाटोमा अत्यावश्यक सवारी साधनमात्र चलिरहेका ट्राफिक प्रहरीले सञ्चालन गरेको एफएमले जनाएको छ ।
तर उत्तरतिर जाने सडक पनि पहिरोले गर्दा ठाउँ–ठाउँमा अवरोध छ ।
अविरल वर्षासँगै झरेको पहिरोले बाटो बन्द भएपछि तीन दिनदेखि काठमाडौंबाट लामो दुरीका सवारी साधन छुटेका छैनन् । सभार

