टिपरको बदमासीमा प्रहरीको अनदेखा


 

जनकपुरधाम : धनुषाको लक्ष्मीनियाँ गाउँपालिका-२ सोहनीका किसान मिथुन यादव दूध बेच्न दिनहुँ जनकपुर आउ-जाउ गर्छन् । करिब पाँच किलोमिटर यात्रा गर्दा ६ लेन सडकमा उड्ने धुलो र असरल्ल छरिएका गिट्टीले वाक्कदिक्क छन् मिथुन ।

‘सिक्स लेनमा चल्ने धेरैजसो टिपर र ट्याक्टरमा गिट्टी, बालुवा ओभरलोड हुन्छ ।

त्रिपालले छोपे पनि पछाडिबाट खस्ने बालुवा आँखामा पर्छ । गिट्टी बाटोभरि छरिन्छ । साइकल चलाउँदा दुर्घटना हुने खतरा रहन्छ,’ मिथुन गुनासो गर्छन् ।

जनकपुर-ढल्केवर ६ लेन सडकमा मिथुन यादवकै जस्तो सास्ती भोग्न बाध्य छन् धनुषाको बटेश्वर गाउँपालिका ३ का विनोद महतो पनि । उच्च अदालत जनकपुरका नायब सुब्बा महतो अदालत आउजाउ गर्दा बालुवा उडेर कहिले आँखामा र कहिले लुगामा पर्ने गरेको बताउँछन् ।

जनकपुर-ढल्केबर सडक खण्डमा मिथुन र विनोदजस्ता हजारौं सर्वसाधारण दिनहुँ टिपर र ट्याक्टरबाट उड्ने धुलो र खस्ने गिट्टी बालुवाबाट सास्ती व्यहोरिरहेका छन् ।

ढल्केबरदेखि जनकपुरसम्म चार ठाउँ (ढल्केबर, सखुवा महेन्द्रनगर, लक्ष्मीनिया, मुजेलिया) मा ट्राफिक प्रहरी चेकपोस्ट छ ।

दर्जनौं टिपर र ट्याक्टर ट्राफिक प्रहरीकै अगाडिबाट बालुवा उडाउँदै, पानी चुहाउँदै जनकपुरधाम बजार प्रवेश गर्छन् । तर प्रहरीले तिनका चालकलाई रोक्न त परैजावस्, सम्झाइ बुझाइ समेत गर्दैन ।

बिहीबार अपराह्न ५ बजेदेखि ५ः३० बजेको बीचमा ट्राफिक चेकपोस्ट मुजेलियाका इञ्चार्ज (सई) दिनेशकुमार दासको नेतृत्वमा ट्राफिक प्रहरीहरु जाँचमा खटिएका थिए ।

जनकपुर आउने प्रायः मोटरसाइकललाई रोकेर सोधपुछ गरेका उनीहरुले एउटा टिपर र दुईवटा ट्याक्टरलाई रोकेनन् । म.प्र.०३।००१ ख ८५४५ नम्बरको टिपरलाई मात्र रोके, जुन टिपरबाट भिजेको बालुवाबाट धाराझैँ पानी चुहिरहेको थियो ।

करिब पाँच मिनेट रोकेर ट्राफिक प्रहरीले चालकबाट एउटा कागज लिएर छाडे । उक्त टिपर उसैगरी पानी चुहाउँदै, बालुवा उडाउँदै गन्तव्यतिर लाग्यो ।

त्यो आधा घण्टाको दृष्यपछि मुजेलिया ट्राफिक प्रहरीका इञ्चार्ज दिनेशकुमार दासलाई प्रश्न गर्दा उनले सबैलाई चेकिङ गर्न नभ्याउने जवाफ दिए । ‘सबैलाई चेकजाँच गर्न भ्याइँदैन ।

पानी चुहाइरहेको त्यो टिपरको कागजात राखेको छु । उसलाई पछि कारबाही गर्छु’ उनले भने ।

७ भदौको दिन बिहान साढे ९ बजेतिर ट्राफिक प्रहरी चेकपोस्ट सखुवा महेन्द्रनगरका प्रहरीहरु महेन्द्रनगर भन्दा तीन किलोमिटर दक्षिणमा चेकिङमा व्यस्त थिए ।

त्यसक्रममा पत्रकारको परिचय नदिइ ट्राफिक प्रहरी जवान रजनिश मिश्रालाई ‘टिपरलाई किन चेकिङ गर्नुहुन्न रु’ भनेर प्रश्न गर्दा उनी झर्किए । ‘हामीलाई किन सोध्नु हुन्छ रु हाकिमलाई गएर सोध्नुस् न’ उनले भने ।

प्रहरीमाथि अवैध असुलीको आरोप

टिपररट्याक्टरको बदमासी र ट्राफिक प्रहरीको बेवास्ता ६ लेन सडकमा स्पष्ट देख्न सकिन्छ । ६ लेन सडकको पूर्वतर्फको तीन लेनमध्ये एक लेनको सडक गिट्टी बालुवाले ढाकेको छ ।

जुन टिपर र ट्याक्टरबाट झरेको गिट्टी बालुवा हो । वर्षाको भेलले बगाउँदा पनि धेरै परिमाण अहिले पनि सडकमा छरपष्ट देख्न सकिन्छ । त्यही गिट्टीमा परेर अनियन्त्रित हुँदा मोटरसाइकल बेलाबेला दुर्घटना भइरन्छन् ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीलाई पटक पटक भेटघाटमा पत्रकारहरुले ध्यानाकर्षण गराउने गरेका छन् ।

तर, त्यसको सामान्य असर पनि सडकमा गुड्ने टिपर तथा ट्याक्टरमा देखिन्न । । सभार

प्रतिक्रिया !

ताजा खबर

थप खबर पढ्नुहोस्