काठमाडौँ : सत्ता साझेदार दल नेपाली कांग्रेसको असोज १ गतेबाट सञ्चालन गर्ने भनिएको सय दिने अभियानमा प्रतिनिधि पठाउन ढिलाइ भएको छ । पार्टी मुख्य कार्यालय सानेपा स्रोतका अनुसार प्रतिनिधि अभियानका लागि जिल्ला जिल्लामा जाने प्रतिनिधि टुङ्गो लगाउन कांग्रेसले सकेको छैन ।
असोज १ गतेबाट अभियान सुरु गर्ने भनिए पनि असोज २ सम्म प्रतिनिधि नै टुङ्गो लाग्न सकेको छैन । पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो २ बजेका लागि अधिवेशनमा जानेहरूलाई अभिमुखीकरण भन्दै पार्टी पदाधिकारी‚केन्द्रीय सदस्य‚ सांसद तथा पूर्व केन्द्रीय सदस्यहरूलाई सानेपामा बोलाएका छन् ।
१६ गते सम्म पार्टीको केन्द्रीय समिति बैठकले सय दिने साङ्गठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । असोज १ गतेबाट सुरु गरेर पुस १० गते सम्म अभियान सञ्चालन गर्ने कांग्रेसको तयारी थियो ।
यसका लागि भदौ ३० भित्र प्रतिनिधि जिल्ला जिल्लामा पठाउने कांग्रेसले बताएको थियो ।
अभियान अन्तर्गत पार्टीको सबै तहका साङ्गठनिक गतिविधिलाई प्रभावकारी बनाउन प्रतिनिधिहरूले भूमिका खेल्ने टीओआर पाएका छन् ।
यस्तै, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिए नदिएको हेर्ने, विधान बमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक विषयमा जानकारी लिने कार्यक्षेत्र उल्लेख गरिएको छ ।

