काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो दिन पहिलो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा बिहान ९ बजे सुरु हुनेछ । दोस्रो खेल खेल्न लागेको विराटनगर उद्घटान खेलमै जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । उता सुदूरपश्चिम रोएल्स लिगमा आफ्नो पहिलो खेल खेल्दैछ ।
पहिलो खेलमा विराटनगरका लागि न्युजिल्याण्डका स्टार मार्टिन गप्टिलले अर्धशतक बनाएपनि अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन् । बलिङमा पनि खासै राम्रो गर्न नसक्दा जनकपुर बोल्ट्ससँग सहजै पराजित भएको थियो ।
मार्टिन गप्टिलसँगै विराटनगरमा ओमानका आकिब इल्यास, क्यानडाका निकोलस किर्टोन र स्कटल्याण्डका क्रिस सोल पनि छन् । सन्दीप लामिछानेसँगै नेपालका लोकेश बम, बसिर अहमद, जितेन्द्र मुखिया अनिल खरेल जस्ता खेलाडी छन् ।
सुदूरको विदेशी खेलाडीमा नेपालमा चर्चित रोहन मुस्ताफा, न्युजिल्याण्डकै स्कट कुगेलेइन, स्कटल्याण्डका ब्राण्डन म्याकमुलेन र इंग्ल्याण्डका सैफ अली जैब छन् ।
मुख्य स्पीनर नभएपनि कप्तान दीपेन्द्रसहित मुस्ताफा र सैफ अद्यी जैबले स्पीन बलिङ गर्नुका साथै अलराउण्डको भूमिका खेल्नेछन् । यस्तै पेस बलिङमा आईपीएल खेलिसकेका स्कट कुगेलेइन र नेपालका अविनाश बोहरा छन् । आरिफ शेखले पनि पार्ट टाइम मिडियम पेस बलिङ गर्छन् ।

